काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंकदरलाई ७ दशमलव ५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाइएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६ दशमलव ५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकदरलाई ७ दशमलव ५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५ दशमलव ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यता अर्थविद् डा. कृष्ण आचार्यले मौद्रिक नीतिले खास लक्ष्य भेटाउन नसकेको बताउनुभएको छ ।
सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ । बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखेको राष्ट्र बैंकले जनाएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखिएको छ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले समयानुकूल मौद्रिक नीति ल्याइएको बताउनुभयो ।
मौद्रिक नीतिमा घर र सेयरमा जाने कर्जा लचक बनाइएको छ । आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाएर २ करोड पुर्याएको छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख रहेको गभर्नर महाप्रसाद अधिकारीको भनाई छ ।
मूल्य र बाह्य क्षेत्रको स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको छ, केन्द्रीय बैंकबाट जारी पूर्णपाठमा लेखिएको छ । यस्तै, वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता छ । यसबाहेक, ठूला कर्जाहरूको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधिकेन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने लगायतका नीति तर्जुमा गरिएको छ ।