काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप २ हजार १२० जना संक्रमित थपिएका हुन् ।
आज संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज १२ हजार ९७८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना सक्रमित निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।
काठमाडौं उपत्यकामा १ हजार १७७ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी १ हजार १७७ कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।
काठमाडौंका ६८ र ८३ वर्षका दुई पुरुष, ललितपुरका ६७ वर्षका पुरुष, सुनसरीका २८ वर्षीया महिला, सिन्धुपाल्चोकका ४१ वर्षका पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, चितवनकी ६७ वर्षीया महिला र कैलालीका ७९ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।