प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि चौतर्फी विवाद सुरु भएको छ । प्रस्ताव पारित भए दुई हजार दुई सय ४९ जना नेकपानिकट उद्योगी, व्यवसायीले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।
आज बुटवलमा एक कार्यक्रम गर्दै उनीहरुले बुटवलबाट राजधानी सार्ने प्रस्ताव सभाले पारित गरे सामूहिक राजीनामा दिने घोषणा गरेका हुन् ।
बुटवल र आसपासको क्षेत्रमा रहेका ३५ वटा व्यावसायीक संघसंस्थामा नेकपाका करिब २३ सय हाराहारी क्रियाशील पार्टी सदस्य छन् ।
उनीहरुले पत्रकार सम्मेलनमार्फत् सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन् । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले पार्टीका सयौं कार्यकर्ता र आम सर्वसाधारणको जनभावनाविपरीत राजधानी सार्न लागिएकाले आफूहरुले सामूहिक राजीनामा दिएको जानकारी दिनुभएको छ ।
बोहराले यस क्षेत्रका सांसदहरुको मत राख्ने अधिकार समेत पार्टीले ह्वीप लगाएर बञ्चित गरेको आरोप लगाउनुभयो । यस्तो गरिरहँदा पार्टीमा बस्नुपर्ने कुनै औचित्य नरहेको उहाँको भनाई छ ।
व्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका छन् ।
शुक्रबार प्रस्ताव पेस भएपछि हिजो बसेको पहिलो बैठकमा संसदीय पद्धति मिचेर प्रस्ताव ल्याइएको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।