काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।
एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई प्रति खेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गर्यो । भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए ।
कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलको उपस्थितिमा सम्पन्न भएको थियो ।
इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले खोलेको संस्था हो ।पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिए ।