Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोशीको राजनीतिक समीकरणले समस्या उस्तै, नवनियुक्त मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सकस (खास खबर)

कोशीको राजनीतिक समीकरणले समस्या उस्तै, नवनियुक्त मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सकस (खास खबर)

माओवादी लचिलो बन्न तयार 
  • शनिवार, भाद्र २३ २०८०

  • 889
    SHARES

  • कोशीको राजनीतिक समीकरणले समस्या उस्तै, नवनियुक्त मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सकस (खास खबर)
    काठमाडौं । कोशी प्रदेशको राजनीतिक समीकरणले कुनैपनि दलको सरकार नबन्ने भएपछि समस्या उत्पन्न भइरहेको छ । अवैधानिक रुपमा सरकार गठन गर्न खोज्दा सर्वोच्च अदालतले दुई–दुई पटकसम्म बदर गरिदिएपछि अबको राजनीतिक राजनीतिक बाटो के हुने भन्नेमा दलहरू अन्योल बनेका छन् । तत्कालीन समयमा केन्द्रमा एमाले माओवादीको समीकरण ताका संविधानको धारा १६८ को उपधारा १ बमोजिमको सरकार नबन्ने भएपछि उपधारा २ अन्तर्गतको सरकार बनेको थियो । त्यतिबेला एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नुभयो । दुई महिना नबित्दै संघमा तुहिएको समीकरणका कारण ६ वटा प्रदेशमा सहजैले सरकार बन्दा कोशी विवादित बन्दै आएको छ । अहिले संविधानको धारा १६८ को उपधारा ३ अन्तर्गतको सरकार बनेको छ । जसमा ठूलो दलको हैसियतले नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री कार्कीले आफ्नो केन्द्रीय नेतृत्वबाट सहमतिका लागि जुनसुकै प्रयास गर्नेगरी अनुमति लिएको दाबी गर्नुभयो । 
     
    कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दुई पटक मुख्यमन्त्रीको शपथ लिएपनि सर्वोच्चले बदर गरिदिएपछि पुनः सरकारको अनिश्चितता देखिएको छ । अहिलेको अवस्था कायम रह्यो र नेताहरूले विवेक पुर्‍याएनन् भने कार्की नेतृत्वको सरकारले पनि पूर्णता पाउने सम्भावना छैन । जसका लागि केन्द्रीय नेताहरू सकारात्मक हुनुपर्ने देखिन्छ । प्रदेशमा अधिकार पनि खोज्ने तर स्वविवेकको निर्णय लिन नसक्ने दलका नेताहरूका कारण कोशी अन्योलमा परेको छ । यता, माओवादी केन्द्रका नेता, पूर्व सभामुख एवं मन्त्री बाबुराम गौतमले अहिलेसम्म भएका सबै क्रियाकलाप गलत बाटोमा गएको बताउँदै अब सहमति खोजिनुपर्नेमा जोड दिनुभयो । 
     
    अब भने कोशी सरकारले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारका लागि आह्वान हुनेछ जसमा प्रदेशसभाभित्र रहेका प्रदेशसभा सदस्यहरूले आफू बहुमत जुटाउन सक्ने भन्दै दाबी पेश गर्नेछन् । त्यसको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । यद्यपि सो अवधिमा विश्वासको मत लिन सकिएन भने मध्यावधि निर्वाचनको बाटो तय हुनेछ । राजनीतिक विश्लेषक मुमाराम खनालका अनुसार जनताको म्याण्डेड भन्दा पनि राजनीतिक सहमति महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले विभाजन रोक्न सबैको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिनुभयो । 
     
    यतिबेला कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूले विवेक पुर्‍याउन जरुरी देखिएको छ । त्यहाँको राजनीतिक अस्थिरताका कारण सडकका वैकल्पिक शक्तिहरूलाई मलजल गरिरहेको देखिन्छ र यसले जनतामा प्रत्यक्ष वितृष्णा पैदा गरेको छ । विभिन्न तवरले जातीय, धार्मिक, साम्प्रदायिक हिंसा भड्काउन उद्धत दलहरू एकदिन आफ्नै पासोमा पर्ने खतरा बढ्दै गएको छ । 
     


    शनिवार, भाद्र २३ २०८००७:२२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij