काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण दलमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ। असोज ६ देखि १३ गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष राम प्रसाद आचार्य चीन जानुभएको हो।
उनीहरूलाई वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, उपाध्यक्ष आनन्द चौधरी र उत्तम भ्लोन लामाले इप्पानबाट औपचारिक रुपमा बिदाइ गर्नुभयो ।
नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकोले चीन भ्रमणका क्रममा इप्पानले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्ने अध्यक्ष कार्कीले बताउनुभयो । नेपाल र चीन बीच विद्युत व्यापारका लागि अन्तरदेशिय प्रसारणलाइन निर्माणलाई जोड दिन इप्पानले प्रधानमन्त्रीलाई आग्रह गर्ने छ। निजी क्षेत्रबाट चीनमा विद्युत व्यापारका लागि पनि छलफल हुने अध्यक्ष कार्कीको भनाइ छ।
‘नेपाल सरकारले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित ऊर्जा विकास मार्ग चित्र २०३५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यो क्षमतामा विद्युत उत्पादन गर्न धेरै नै ठूलो लगानीको खाँचो पर्ने छ,’ अध्यक्ष कार्कीले भन्नुभयो, ‘त्यसैले इप्पानले नेपालमा चिनियाँ सहित उनीहरूको सम्पर्कमार्फत आउन सक्ने सम्भावित लगानीका लागि पनि चिनियाँ पक्षसँग छलफल गर्ने छ।’
प्रधानमन्त्रीको भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरू, व्यापारिक समुदायबाट इप्पानसँगै अन्य निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ।
प्रधानमन्त्री प्रचण्डसँगै उहाँको सचिवालयका सदस्यहरू भने अमेरिकाबाटै चीन प्रस्थान भएका छन्।