Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै, जानकी मन्दिरमा पूजाअर्चना गर्ने

राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै, जानकी मन्दिरमा पूजाअर्चना गर्ने

  • सोमवार, आश्विन ८ २०८०

  • 650
    SHARES

  • राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै, जानकी मन्दिरमा पूजाअर्चना गर्ने
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम जानुहुने भएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हवाईजहाजबाट बिहान पौने ९ बजे जनकपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
     
    जनकपुर विमानस्थलमा राष्ट्रपति पौडेललाई मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुहुने छ । 
     
    राष्ट्रपति पौडेल विमानस्थलबाट सिधै जानकी मन्दिरका लागि प्रस्थान गर्नुहुने छ । जानकी मन्दिरमा मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गर्नुहुने छ।
     
    आधा घण्टा जानकी मन्दिरमा बिताउँदा राष्ट्रपति पौडेलले जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।
     
    जानकी मन्दिरमा पूजाअर्चना पश्चात् प्रदेश प्रमुख, सभामुखसँग जलपान र नेपाल राष्ट्र बैंकको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ ।
     
    सहरी विकास मन्त्रालयअन्तर्गतका सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालका अनुसार राष्ट्रपति पौडेलले दिउँसो १ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभा हलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
     
    समुद्घाटन कार्यक्रम पश्चात् सोही सभा हलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समारोहको आयोजना गरिने छ ।
     
    राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात् दिउँसो ३ बजे काठमाडौँ फर्किनुहुने छ ।


    सोमवार, आश्विन ८ २०८००६:४७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij