काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई द्विअर्थी रुपमा विश्लेषण गर्न थालिएको छ । प्रधानमन्त्रीको भ्रमणलाई चीनले सोचेभन्दा बढी महत्त्व दिएका कारण पनि दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा लिइएको छ । आदिमकालदेखि रहिआएको सामाजिक, आर्थिक, सांस्कृतिक र पारस्परिक सम्बन्धले यो भ्रमणपछि थप उचाइ पाउने दाबी पनि गरिएको छ ।
चीनले आफ्नो महत्त्वाकाङ्क्षी परियोजना बीआरआईदेखि १२ वटा बुँदामा सम्झौता समेत गरेको छ । चीनले नेपालको अस्तित्वलाई शिरोपर गर्दै सार्वभौमिकता माथि निकै संयम भएको देखिएको छ । प्रधानमन्त्रीलाई गरेको सम्मान र भएका आर्थिक सम्झौताले पनि यो विषयलाई झल्काउँछ । प्राडा गोविन्दमान सिंह कार्कीका अनुसार चीनले नेपालको उन्नति र प्रगतिका लागि सधैँ उल्लेख्य भूमिका खेल्दै आएको छ । लामो समयदेखिको दौत्य सम्बन्धलाई चीनले निरन्तरता दिइरहेको उहाँको बुझाइ छ ।
प्रधानमन्त्री प्रचण्डले पनि नेपालको भारत र चीनसँगको सम्बन्ध असंलग्न परराष्ट्र नीति, शान्तिपूर्ण सहअस्तित्व र असल छिमेकीको सिद्धान्तमा आधारित रहेको बताउनुभएको छ । नेपालले दुवै देशसँग स्वतन्त्र सम्बन्ध कायम राखेको भन्दै प्रचण्डले एउटा देशसँगको हाम्रो सम्बन्धले अर्को देशलाई असर नगर्ने बताउनुभएको छ । माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले पनि अमेरिका र चीनसँग नेपालको सम्बन्ध फरक प्रकृतिको रहेको बताउनुभएको छ । आदिमकालदेखिको सांस्कृतिक सम्बन्ध र जोडिएको भूमिमा समेत विवादरहित बन्न सक्नु आपसी घनिष्ठता रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री तीन पटक चीन भ्रमणमा गएको बताउँदै पूर्व उपकुलपति प्राडा गंगा उप्रेतीले चीनप्रति प्रचण्डको नकारात्मक धारणा छ की भन्ने आशंकालाई चिरेको बताउनुभयो । चीनले देखाएको सदाशयतालाई स्मरण गर्दै उप्रेतीले भ्रमणका क्रममा भएका वार्ता उपलब्धिमूलक हुने दाबी गर्नुभयो । असंलग्न परराष्ट्र नीतिमा चीन विश्वस्त रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा नेपालीले नेपाल–चीन रेल परियोजनाबाट धेरै अपेक्षा गरेको बताउनुभएको छ । यो भ्रमणकाबीच उठेका विभिन्न शङ्काहरूलाई चीनले नै निष्क्रिय पारेको छ । स्वाभाविक रुपमा भूमि जोडिएको राष्ट्रले नेपालमा हुने गतिविधिप्रति चासो राख्ने गर्दछ । यहाँको सरकार र राजनीतिक दलहरूले सम्बन्धलाई बचाइराख्न भरपुर प्रयत्न गर्नुपर्दछ ।