Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दोलखामा सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ

दोलखामा सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ

  • बुधवार, आश्विन १७ २०८०

  • 1.0K
    SHARES

  • दोलखामा सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ
    काठमाडौं । पछिल्लो समय चीनसँग जोडिएको दोलखाको नाका हुँदै भइरहेको सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार(आज) थप एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको सिचुवानका ६६ वर्षीय तासी दावा भनिने आगर लामा रहेका छन्। 
     
    काठमाडौं महानगरपालिका–१५, किमडोल बस्दै आएका उनलाई त्यहीँबाट पक्राउ गरिएको हो। उक्त प्रकरणमा लामाले सुन ल्याउने भूमिका निर्वाह गरेको प्रहरीले जनाएको छ। 
     
    यसअघि नै यो प्रकरणमा तीन जना पक्राउ परेका छन्। एक चिनियाँ नागरिक र दुई जना नेपाली नागरिक मंगलबार पक्राउ परेका थिए। योसँगै यो प्रकरणमा दुई चिनियाँ र दुई नेपाली गरी चार जना पक्राउ परेका हुन्। 
     
    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले तासी भनिने चिनियाँ नागरिक ग्याङ रोउ तथा नेपाली नागरिकहरू लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान पक्राउ परेको बताउनुभयो ।
     
    पछिल्लो समय दोलखाको विभिन्न ठाउँबाट ठूलो परिमाणमा सुन बरामद हुँदै आएको छ। आइतबार दिउँसो मात्रै प्रहरीले विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा ४ किलो सुन बरामद गरेको थियो। 
     
    एक साताको अवधिमा दोलखाबाट प्रहरीले ११ किलो बरामद गरेको छ। सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै २ जनालाई पक्राउ गरेको थियो। दोलखाको विगु गाउँपालिका–१ लामाबगरकाका ३० वर्षीय चसमान तामाङ र सोही ठाउँका २७ वर्षीय राज तामाङलाई प्रहरीले पक्राउ गरेको थियो। 
     
    प्रहरीका अनुसार चीनसँग जोडिएको दोलखाको फलेक नाका हुँदै सुन तस्करी बढेको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको तस्करी विमानस्थलमा भएको कडाइले ‘ब्रेक’ भएपछि चीनको रोङजिया नाकाबाट दोलखाको फलेक हुँदै तस्करी बढेको प्रहरीको भनाइ छ।


    बुधवार, आश्विन १७ २०८००३:२२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij