काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चेतनामाथि प्रश्न नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ पार्टीलाई हेरौं भनेर मात्र आफूहरुले मत नपाएको बताउनुभयो ।
सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय काार्यलय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको सूचकांक कमजोर बनाउँदा पनि तपाईकै दललाई भोट हालिरहने ? भन्ने प्रश्न गर्नुभएको हो ।
‘हामीलाई माया गर्ने, सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा, हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहिँ कस्ता ? यो प्रश्न मैले गर्न चाहन्छु’ रविले भन्नुभयो ।