काठमाडौँ – नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ६१४ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा दुई महिला र १२ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौँकी ६८ वर्षीया र धादिङकी ३१ वर्षीया महिला रहेका छन्।
त्यस्तै, सुनसरीका ४५ वर्षीय, मोरङका २० र ७२ वर्षीय, सर्लाहीका ७१ वर्षीय, काठमाडौँका ४८ र ९० वर्षीय, ललितपुरका ४३ र ४९ वर्षीय, भक्तपुरका ६८ वर्षीय, मकवानपुरका ७७ वर्षीय, नवलपरासी (पूर्व)का ३६ वर्षीय र रुपन्देहीका ५७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
१९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार जानकारी दिए।
नेपालमा २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको हो। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ। उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको छ।
जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन्।