काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे सुझाव दिनुभएको छ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर रास्वपाका सभापति लामिछानेले १४ बुँदे सुझाव दिनुभएको हो ।
जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका लामिछानेले राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएको रास्वपाले जनाएको छ ।
प्राथमिकताका आधारमा सुझावहरु कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा राख्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको रास्वपाले जानकारी गराएको छ ।
राहत वितरणमा एकरुपता नदेखिएको, राज्यप्रति पीडितको भरोसा नभएको, त्रिपाल गुणस्तरहीन भएको, बालबालिकाको अवस्थाप्रति राज्य गम्भिर नदेखिएको लगायतका विषयलाई रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।