काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले भीआईपीको घरायसी काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनु उचित हुने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता कँडेलले भन्नुभयो, ‘संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबारे चासो लिएको छ । यो राम्रो कुरा हो । गृह प्रशासनले भीआईपीलाई थ्रेट र पोजिसन, हिजोको भूमिका र अवस्थाका आधारमा सुरक्षा दिने हो । कति समयसम्म र कति जना दिने मापदण्ड हुन्छ । अहिले त शान मान देखाउनका लागि मापदण्डबाहिर गएर सुरक्षा लिएको देखिएको छ । घरायसी काममा प्रयोग गरिएको छ भने तत्काल फिर्ता बोलाउनु उचित हो।’
नेता कँडेलले आन्दोलन गर्दैमा बैंकबाट लिएको कर्जा र ब्याज छुट हुन नसक्ने पनि औंल्याउनुभयो । उहाँले समाजलाई सही ट्र्याक ल्याउन कहिलेकाहीँ आन्दोलन हुने भएपनि त्यसको नेतृत्व गर्ने व्यक्तिको पनि पहिचान गरी गलत प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने औंल्याउनुभयो ।
अर्को प्रसंगमा उहाँले संवैधानिक निकायमा भागबन्डाका आधारमा नियुक्ति गर्दा नतिजा गलत आउने चेतावनी पनि दिनुभयो । कँडेलले संवैधानिक निकायमा स्वच्छ प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने बताउँदै सत्तामा पनि गठबन्धन गर्ने, संवैधानिक निकायमा पनि भागबन्डा गर्दा त्यसले मुलुकलाई धराशायी बनाउने औंल्याउनुभयो ।