काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको राष्ट्रिय युवा संघको काठमाडौं केन्द्रित विरोध कार्यक्रमका लागि एकीकृत सुरक्षा योजना बनाएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै एसएसपी खत्रीले सामाजिक सञ्जालमा विभिन्न अफवाह र संशय आएपछि जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिले दुवै समूहलाई बोलाएर विरोध कार्यक्रमको स्थान तोकेको बताउनुभयो । प्रहरीले विभिन्न स्रोतबाट प्राप्त सूचनाको विश्लेषण गरी जोखिम न्यूनीकरणका लागि १०० भन्दा बढी ठाउँमा चेकिङको व्यवस्था गरेको बताउँदै उहाँले दुवै समूहको कार्यक्रम हुने स्थानमा मजबुत सुरक्षा प्रबन्ध मिलाएको दाबी गर्नुभएको छ ।
दुवै समूहले मुठभेड, झडप, विवाद वा द्वन्द्व गरेमा प्रहरी ऐन २०१२ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार नियन्त्रणमा लिने पनि एसएसपी खत्रीले बताउनुभयो । उहाँले दुवै कार्यक्रम सुरक्षित र व्यवस्थित गर्न सुरक्षा निकाय लागेकाले निर्धक्क भएर आआफ्ना पेसा र व्यवसायमा लाग्न पनि नागरिकहरूलाई आग्रह गर्नुभयो । दुई पक्षको विरोध कार्यक्रमका कारण सवारी आगमनमा अवरोध हुने भएकाले कुनै कुनै स्थानमा जाम हुने सम्भावना रहेको भएपनि जनजीवनलाई सामान्य बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले आम जनतालाई निश्चिन्त भएर दैनिक कार्य सञ्चालन गर्न भनेको स्मरण गराउँदै कुनै पनि विद्यालय, कार्यालय र व्यवसाय बन्द गर्न नभनेको जिकिर गर्नुभयो ।
दुर्गा प्रसाईं र महेश बस्नेत दुवैको निवास भक्तपुर भएकाले जुलुस निस्कँदा झडप हुने सम्भावना छ कि छैन भन्ने पत्रकार धमलाको प्रश्नमा एसएसपी खत्रीले भन्नुभयो, ‘महेश बस्नेत र दुर्गा प्रसाईंको वासस्थान एकै स्थानमा भएकाले संशय हुनु स्वाभाविक हो । हामीले जम्मा हुने र कार्यक्रम हुने स्थानलाई दृष्टिगत गरेर सुरक्षाकर्मी परिचालन गरेका छौं । दुवै पक्षको कार्यकर्ता र समर्थकको भेटघाट, जमघट र कार्यक्रम हुने रुट पनि फरक फरक तोकेका छौं । अहिलेसम्म घुसपैठ हुने र सुरक्षामा चुनौती दिने घटनाहरू हुने कुनै पनि सूचना छैन ।’ दुवै विरोध कार्यक्रमको सीसीटीभी र ड्रोन प्रविधिबाट निगरानी हुने पनि एसएसपी खत्रीले बताउनुभयो ।
युवा संघको कार्यक्रम आज मात्र र दुर्गा प्रसाईँ समूहको कार्यक्रम अनिश्चितकालीन भनिएको पनि खत्रीले जानकारी दिनुभयो ।