काठमाडौं । लघुवित्त संघ, नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले दुर्गा प्रसाईंले लघुवित्तका पीडितहरूलाई २० लाखसम्मको ऋण मिनाहा गर्ने भनेर आन्दोलन गर्नुको औचित्य नभएको बताउनुभएको छ । उहाँले यो पैसा जनताको भएकाले यतिकै मिनाहा गर्ने कुरा असम्भव रहेको दाबी गर्नुभयो ।
माइक्रोफाइनान्स र लघुवित्तलाई राष्ट्र बैंकले नै प्रत्यक्ष निगरानी गरिरहेको बताउँदै उहाँले कुनै कमी कमजोरी भए राष्ट्र बैंकले कारबाही गर्ने हुनाले बैंकबाट लिएको पैसा जनतामा बाड्छौं भनेर आन्दोलन गर्नु सरासर गलत भएको दाबी गर्नुभयो । उहाँले पीडितहरूका केही समस्या भए तिनीहरूको पहिचान गरी वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘तिर्न नसक्ने के कारणले तिर्न सक्दैन त्यसको पहिचान हुनुपर्छ । पहिला पहिला गाउँघरमा त ठुल—ठुला मान्छेहरू थिए, उनीहरूले ऋण दान दिन्थे, जग्गा राखेर दिन्थे । अहिले त माइक्रोफाइनान्स समूह बनाएर दिने हो । यसले ३३÷३४ लाख महिलालाई प्रत्यक्ष सपोर्ट गरेको छ । यो त्यति नराम्रो त होइन । तर थोरै केही समस्या छन् भने बसेर सल्लाह गर्न सकिन्छ, छलफल गर्न सकिन्छ ।’
अध्यक्ष पोखरेलले एउटा मान्छेले धेरै माइक्रोफाइनान्सबाट ऋण लिएर चलाइदिने कुराले समस्या निम्त्याएको बताउनुभयो । वास्तवमा मान्छेहरूले माइक्रोफाइनान्सबाट पैसा लगेर उद्योग व्यवसाय गरिरहेको उदाहरण रहेको बताउँदै उहाँले राम्रो भन्दापनि नराम्रो कुराको चर्चा बढी हुने गरेको गुनासो गर्नुभयो ।
उहाँले केही दिन अघि अर्थमन्त्रालयले आफूहरूलाई बोलाएर छलफल गरेको र त्यसपछि पीडितहरूसँग बसेर सल्लाह गरेर समस्या सम्बोधन गरेको बताउनुभयो । तरपनि अहिले माइक्रोफाइनान्समा पैसा लिने र तिर्न पर्दैन भनेर आन्दोलनमा आउनु भनेको जायज नभएको बताउनुभयो । यसले मुलुकलाई बर्बादितिर धकेल्ने जिकिर गर्नुभयो । उहाँले लगेको पैसालाई उत्पादनमा लगाउनुपर्नेमा जोड दिनुभयो ।