Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण हुँदैन : प्रधानमन्त्री प्रचण्ड

संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण हुँदैन : प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, मंसिर ९ २०८०

  • 545
    SHARES

  • संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण हुँदैन : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । 
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने यस अभियानको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै सबैको एकताबद्ध प्रयासका लागि सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गर्नुभएको छ । 
     
    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शुभकामना व्यक्त गर्दै उहाँले सङ्घीय संरचनाअनुसार तीनै तहका सरकारमा लैङ्गिक हिंसा विरुद्धका कानुनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकीकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउन यस अभियानको सन्दर्भमा सबैलाई आग्रह गर्नुभयो । समतामूलक समाज निर्माणका लागि महिलामाथि हुने सबै प्रकारका हिंसाहरूको अन्त्य हुनुपर्ने अवधारणा अनुरूप हरेक वर्ष नोभेम्बर २५ देखि  डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन हुँदै आएको अवगत नै छ ।
     
    ‘लैङ्गिक हिंसा व्यक्ति या परिवारको मात्रै समस्या होइन, यो हामीले अभ्यास गर्ने राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने नीतिहरूसँग अभिन्न रुपमा गाँसिएको छ, सबै क्षेत्रमा महिलाको राजनीतिक, सामाजिक र सांस्कृतिक सम्मानजनक उपस्थिति र सहभागिताको सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सक्छौँ’, उहाँले भन्नुभएको छ । 
     
    यही तथ्यलाई आत्मसात् गरेर लामो संघर्षपछि समावेशी समानुपातिक राजनीतिक प्रणाली स्थापना गर्दै महिला अधिकारका सबै पक्षलाई संवैधानिक रुपमा नै ग्यारेण्टी गर्न हामी सफल भएको उल्लेख गर्दे अबको आवश्यकता महिला अधिकारलाई सुनिश्चित गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्नु रहेको बताउनुभएको छ । 
     
    यसैगरी लैङ्गिक समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र समृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरूका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मर्म अनुरूप कानुन निर्माण गर्दै  महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई सबै क्षेत्रमा मूल प्रवाहीकरण गर्नु अत्यन्तै जरुरी रहेको उहाँको भनाइ छ । ‘यसका साथै पीडितको मानवअधिकार संरक्षण र संवर्द्धन गर्न राज्यका सबै निकाय संवेदनशील हुनुसमेत उत्तिकै जरुरी छ’, उहाँले भन्नुभयो ।
     
    उहाँले लैङ्गिक हिंसामुक्त समाजको निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै व्यक्ति परिवार, संस्था, संरचना सबैमा रूपान्तरण नहुँदासम्म, प्रगतिशील चिन्तन र संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण सम्भव नहुने उल्लेख गर्नुभयो । 


    शनिवार, मंसिर ९ २०८००७:५८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij