काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज सम्बोधन गर्नुहुने भएको छ । शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा सम्बोधन गर्न लाग्नुभएको हो ।
बिर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटेल म्यानेजमेन्टको निमन्त्रणामा शाह सालिक अनावरणका लागि हिजै झापा पुग्नुभएको छ ।
पूर्वराजा शाह कलेज उद्घाटन तथा पृथ्वीनारायण शाहको सालिक अनावरणको लागि शुक्रबार झापा जाने कार्यक्रम यसअघि नै तय भएको थियो। ज्ञानेन्द्रको आगमनलाई राप्रपाले शक्ति प्रदर्शन कार्यक्रममा परिणत गरेको हो।
यही क्रममा राजावादीहरूले शक्ति प्रदर्शनसमेत गर्न लागेका छन् । आज ८ हजार मोटरसाइकल र्याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।
काठमाडौंमा दुर्गा प्रसाईंलगायत राजावादीहरूको आन्दोलन चलिरहँदा पूर्वराजा शाहको झापा भ्रमणलाई महत्वका साथ हेरिएको छ । यद्यपि पूर्वराजा झापा जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो ।