काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ ।
धनगढीले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २-१ ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २-० ले पराजित भएको थियो ।
एक खेलबाट तीन अंक जोडेको धनगढी तालिकाको चौथो स्थानमा छ । अंकविहीन बुटवल तालिकाको पुछारमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।