काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ गते हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले पुस ७ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।
कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौँमा बसेको बैठकले प्रदेशको पहिलो सम्मेलन काठमाडौँमा गर्ने गरी तयारीका लागि विभिन्न विषयमा छलफल समेत गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीका अनुसार कार्य सम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरू समेत गठन गरेको छ ।
प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व सम्मेलन मूल आयोजक समिति गठन भएको छ । उक्त मूल आयोजक समितिमा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको प्रवक्ता रुवालीले बताउनुभयो।
त्यस्तै बैठकले सम्मेलनका लागि विभिन्न उपसमितिहरूसमेत गठन गरी पदाधिकारीहरूलाई संयोजक तोकेको छ । बैठकले राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजकको जिम्मेवारी उपसभापति चन्द्र महर्जनलाई प्रदान गरिएको छ भने आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेतलाई दिइएको छ ।