काठमाडौं । पोखरामा जारी केपी ओली कप राष्ट्रिय ट्वान्टी –२० कप क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार(आज) पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनलमा आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । १३६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र जोड्न सक्यो ।
विवेक यादव १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहे । आर्मीका कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । आर्मीको आजको प्लेइङ ११ मा ओपनर सन्तोष कार्की बाहेक अन्य सबै खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।
आर्मीले ओपनर सन्तोष कार्कीलाई पाँचौं ओभरको चौथो बलमा गुमाएको थियो । प्रदीप पासवानको बलमा एलबीडब्लू आउट हुँदै कार्की १३ बलमा ३ चौकासहित आउट भए । मध्यगतिका बलर प्रतीक यादवले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आठौं ओभरको तेस्रो बलमा ५ रनमा क्याच आउट गराए ।
११ औं ओभर मधेशको जितको टर्निङ प्वाइन्ट बन्यो । कप्तान हरिशंकर शाहले विनोद भण्डारीलाई पहिलो बलमा एलबीडब्लू आउट गरे । एक बलपछि बसिर अहमद पनि २ रनमा एलबीडब्लू आउट भए । पाँचौं बलमा नेपाली टोलीका विष्फोटक ब्याटर कुशल मल्ल शून्यमा बोल्ड भएपछि आर्मी ११ ओभरमा ५८–५ को अवस्थामा पुगेको थियो । हरिशंकरको अर्को ओभरमा राजेश पुलामी आउट भएपछि आर्मी १२।५ ओभरमा ६४–६ को अवस्थामा पुगेको थियो । भीम सार्की २१ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।
मधेशका हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रतीक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेशको जितमा तल्लोक्रमका ब्याटर विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए ।
ओपनर हरिशंकर शाह २१ बलमा ३ चौका र २ छक्कासहित २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।
आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए । मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।
सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । देश प्रदेश संरचनामा गएपछि मधेशले यसअघि कुनैपनि प्रतियोगिता फाइनल समेत खेल्न सकेको थिएन ।
बिहीबार पहिलो सेमिफाइनल खेलमा आर्मीले वाग्मतीलाई र दोस्रो खेलमा मधेशले एपीएफलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।