काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पोखरामा आफूमाथि भएको मकैको खोया प्रहारसमेत ‘वेल प्लान्ड’ जस्तो देखिएको उहाँको भनाइ छ ।
सोमबार नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको दाबी गर्नुभयो । आफूले १ करोड ऋण लिएको प्रमाण चाहिने उहाँको भनाइ छ ।
‘मैले लोन लिएको प्रमाण चाहियो । मैले लिएको भनिएको ऋण १ करोड तिर्न पाउनुपर्यो’, लामिछानेले भन्नुभयो, ‘जुन सहकारीमा म सदस्य छैन । लोन मैले लिएको भन्ने छ तिर्न पाउँ ।’
उहाँले आफूले ग्यालेक्सी टिभी छाडेको एक वर्ष भइसकेको र त्यहाँ हुँदा टिभीसँग निश्चित सम्झौता गरेर काम गरेको बताउनुभयो । ‘उहाँहरूको विभिन्न व्यवसायसँगै ग्यालेक्सी पनि एक व्यवसाय हो । मेरो सहकार्य ग्यालेक्सीसँग भएको हो । त्यसका लागि मैले सम्झौता गरेको छु’, उहाँले भन्नुभयो, ‘मेरो उहाँहरुसँग अन्य आबद्धता छैन । मैले टिभी छाडेको डेढ वर्षपछि सहकारी धरासयी भयो । टेलिभिजनलाई त्यसको असर पर्यो । टिभी छाड्दा मैले सबै बुझाएर निस्केको हो ।’
उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि सो क्रममा आलोचना गर्नुभयो। गृहमन्त्रीलाई आफूले सुन तस्करको सूचना दिएपनि संरक्षण गर्ने काम गरेको उहाँको दाबी थियो ।