काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको नियुक्त हुँदा पेश गरेको कागजात मागेको छ ।
बिहीबार(आज) पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई बोलाएर गरिएको छलफलमा पुनको नियुक्ति विवादमा परेको बताउँदै नियुक्त हुँदा पेश गरेका कागजातहरू ३ दिनभित्रै समितिमा पेश गर्न कोषलाई निर्देशन दिएको छ ।
समितिमा सांसदहरू एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणा लगायतका सांसदले पुनको नियुक्तिमा मापदण्ड नपुगेको विषय उठाउनुधभएको थियो ।
समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति राजकिशोर यादवले ३ दिनभित्र कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोशलाई निर्देशन दिनुभयो ।
गत ४ पुसमा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।
पुनलाई विशिष्ट श्रेणी (नेपाल सरकारको सचिव) सरह सेवा सुविधा पाउने गरी चार वर्षका पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएपछि विवाद भइरहेको छ।
पुन माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रेस संयोजक हुनुभएको थियो। उहाँ सत्तारुढ माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत हुनुहुन्छ।