काठमाडौं । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दलहरूले मनोनयन दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि आयोगले सबै तयारीलाई पनि चुस्त बनाएको छ । आजैबाट उम्मेदवारविरुद्ध दाबी विरोध शुरु गरिएको छ । २५ र २६ गते जाँचबुझ गरेर साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सातै प्रदेशका मुकाममा निर्वाचन अधिकृतको कार्यालय खोलेको आयोगले हालसम्मका माइलस्टोन पूरा गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्यमा उम्मेदवार छनोट गर्दा शीर्ष नेताहरूको मनोपोली भएको आरोप लागेको छ । राष्ट्रियसभा सदस्य महेशकुमार महराले अहिले सोचेअनुरूप भागबण्डामा विद्वता व्यक्तिहरू नपरेपनि राजनीतिक डम्पिङ साइट भने भन्न नमिल्ने बताउनुभयो । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूलाई आधार मानेर राजनीतिलाई उचाइ दिन नसकिने उहाँको धारणा छ ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयकलाई दाउपेचमा राखेर अफवाह फैलाएको प्रति आपत्ति जनाउनुभएको छ । उहाँले टीआरसीमा एमाले सौदाबाजी गर्न तयार नभएपछि सहमति हुन नसकेको स्वीकार गर्नुभयो । एमालेले गलत सम्झौता गरेर पद पाउनुभन्दा पनि गठबन्धन भत्काउने दाउमा रहेको उहाँको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले हरेक दलले राष्ट्रियसभामा ओजिलो अनुहार दिन नसकेको बताउनुभयो । कलस्टरकै प्रतिनिधित्व गरेपनि युवा, जुझारु र पोख्त व्यक्तिलाई लैजान नसकिएको उहाँको भनाइ छ । यद्यपि विगत भन्दा केही सुधार भएको तामाङ बताउनुहुन्छ ।
नेकपा एमालेको गठबन्धन फुटाउने रणनीतिका कारण राष्ट्रियसभामा सहमति हुन नसकेको एकथरी तर्क रहेको छ । स्वयं एमाले पनि गठबन्धन नफुट्ने देखिएपछि पछि सरेको स्वीकार गरिरहेको छ । अहिलेको अंकगणित हेर्दा एमाले राष्ट्रियसभामा शून्य हुने देखिएको छ ।