काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा राजनीतिक परिवर्तनपछि देश र जनताको आवश्यकता पूर्ति, विकास र आर्थिक समृद्धिको काम सन्तुलित ढङ्गले हुन नसकेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री श्रेष्ठले अहिले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली विदेश जानबाट रोकिउन् भन्ने अहिलेको सरकारको मुख्य कार्यभार रहेको र त्यसका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।
अहिले नेपालको मुख्य कार्यभार आर्थिक समृद्धि रहेको बताउँदै त्यसका लागि नयाँ राजनीतिक व्यवस्था परिवर्तन गरिएको बताउनुभयो । परिवर्तनपछि जनताहरूले जुन अपेक्षा राखे त्यो मात्रामा विकास र समृद्धिको यात्रा कति अघि बढ्न सक्यो वा सकेन भन्ने सर्वाधिक महत्वको विषय रहेको बताउँदै परिवर्तनको निर्देश, जनताको आवश्यकताअनुसार विकास, समृद्धिलाई गति दिन नसकेको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले हस्तकलाले नेपालको अर्थतन्त्रमा उत्पादन र रोजगारीमा योगदान गरेर निकासी प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्न सहयोग गरेर आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
जनताले राजनीतिक प्रणाली परिवर्तन गरेपछि घुस नखुवाईकन, शक्तिशालीलाई चाकडी, भनसुन नगरीकन आफ्नो काम होस् भन्ने चाहेको, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, विद्युत्, खानेपानी जस्ता विकासका काम अघि बढोस् भन्ने जनताको चाहना रहेको बताउनुभयो ।