काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाउनुभएको छ ।
यसअघि महासचिव नियुक्तिका लागि पठाइएको सिफारिस के भइरहेको छ ? भन्दै सभामुख घिमिरेले ‘स्मरण’ पत्र पठाउनुभएको हो ।
सभामुख घिमिरेले माघ ४ गते स्मरण पत्र पठाएको राष्ट्रियसभा अध्यक्षका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव पद्ममप्रसाद पाण्डेयलाई महासचिव नियुक्तिका सिफारिस गर्नुभएको थियो ।
तर, राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयको नियुक्ति सिफारिस ‘होल्ड’मा राख्नुभएको थियो । तत्कालीन महासचिव भरतराज गौतमले संसद्को महासचिवबाट राजीनामा दिएपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले पाण्डेयलाई नियुक्तिको सिफारिस गरेपनि पाण्डेयको नागरिकता र पासपोर्टमा विवाद आएको थियो । सोहीकारण देखाउँदै राष्ट्रपतिले पाण्डेयको नियुक्ति होल्डमा राखेको बुझिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुख घिमिरेले महासचिव नियुक्तीबारे स्मरणपत्र प्राप्त भएको जानकारी दिनुभयो ।