काठमाडौं । यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको पहिलो विकेट पतन भएको छ। नेपालले पहिलो विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको हो। पाकिस्तानका फास्ट बलर अहमद हसनले कुमाललाई बोल्ड गरेका हुन्।
सुरुवाती आक्रामक ब्याटिङ गरेको नेपालले ४ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै ३१ रन बनाएर खेलिरहेको छ। कुमाल आउट भएपछि उनको ठाउँमा आकाश त्रिपाठी आएका छन्।
अघिल्लो खेलमा ९० रन बनाएका उनी आज १२ बल खेलेर ६ रनमा आउट भए । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’ र सुवास भण्डारीलाई विश्राम दिएर विपिन रावल, दीपकप्रसाद डुम्रे र दुर्गेश गुप्तालाई मौका दिएको हो ।
जारी विश्वकपमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनको हार बेहोरेको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानविरुद्ध १८१ रनको फराकिलो जित निकालेको थियो ।