काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट २०८० को उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ।
शनिबार टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा पुलिसले अर्को विभागीय क्लब आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। पुलिसले प्रतियोगितामा एउटा पनि खेल नहारी उपाधि जितेको हो।
पुलिसको यो तेस्रो उपाधि हो । पुलिसले २०१७ मा आर्मी संग संयुक्त रुपमा उपाधि उचालेको थियो भने २०१९ मा दोस्रो उपाधि उचालेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले एक बल बाँकी हुँदा अलआउट हुँदै १ सय ८१ रन बनाएको थियो। उसको सुरुवाती ब्याटिङ लाइनअप लगातार विकेट पतनको सिकार भए पनि सोमपाल कामी र विवेक यादवले सम्हाल्दा आर्मीले कमजोर स्कोरबाट मध्यम स्कोर तयार गरेको थियो।
आर्मीका लागि यादवले ६३ रन बनाउँदा कामीले ३९ रन बनाए। त्यस्तै, कुशल मल्लले १७ रन बनाउँदा ओपनर इम्रान शेखले २८ रन बनाएका थिए। पुलिसका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए।
१ सय ८२ रनको लक्ष्य पछ्याएको पुलिसले उक्त लक्ष्य ३७।५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। पुलिसका लागि शंकर रानाले ६२ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा उनलाई आरिफ शेखले २७ रनमा साथ दिए।
त्यसअघि अर्जुन साउद ३६ रन बनाएर आउट हुँदा अमित श्रेष्ठले २८ रन बनाएका थिए। त्यस्तै, कुशल भुर्तेल १४ रनमा आउट भए। आर्मीका कुशल मल्ल, सहाव आलम र बसीर अहमेदले समान १–१ विकेट लिए।