काठमाडौं । पार्टी र संसदलाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ ।
संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतीलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिले जिम्मेवारी पाएको सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो । पार्टीबाट सदनमा प्रस्तुत हुने विषयमा सांसदलाई उपसभापति अर्यालले प्रशिक्षित गराउनुहुनेछ । सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा उपसभापति वाग्लेले रास्वपा सांसदलाई गाइड गर्नुहुनेछ ।
झाका अनुसार हरेक दिनको संसद बैठक अघि रास्वपा सांसदहरुको छलफल बोलाउने तयारी पार्टीले गरिरहेको छ । सोमबारबाट बस्ने संसद बैठक अघि २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ ।
गत शुक्रबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो ।