दार्चुलाको सदरमुकाम खङ्लगामा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो ।
महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् । व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन् ।
महाकाली नगरपालिकामा कोरोनाको सङ्क्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाधरूपमा खुला हुँदा झन् जोखिम बढ्ने प्रजिअ पोखरेलको भनाई छ । बुधबार मात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २५० नाघेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटरमा ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएको छ । सशस्त्रको गस्ती बन्द गरिएको छ । नगरपालिकाको मोहती क्षेत्र, बङ्गाबगडलगायतका क्षेत्रमा कोरोना दर बढ्दै गइरहेको छ ।
मङ्गलबार मात्रै दुहु गाउँपालिकामा एक पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको छ । धनगढीमा उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्वकर्मचारीसमेत रहेका ती पुरुषको कोरोनाका कारण ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालयले दुहुको वडा नं २ हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
दुहुमा एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भई आइसोलेसनमा बसिरहेकाले समुदायस्तरमा फैलिन नदिन सिल गरिएको हो ।