Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको शून्य समयमा कसले के बोले?

प्रतिनिधि सभाको शून्य समयमा कसले के बोले?

  • बुधवार, माघ २४ २०८०

  • 549
    SHARES

  • प्रतिनिधि सभाको शून्य समयमा कसले के बोले?
    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बुधबार (आज)को बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 
     
    सांसद अच्युतप्रसाद मैनालीले सरकारको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा पुँजीगत शीर्षकमा १७ प्रतिशत बराबर मात्रै खर्च भएको विषय उठाउनुभयो। विभिन्न सडकखण्ड तथा विकास पूर्वाधार आयोजनाको जग्गाको मुआब्जा वितरण गरिनुपर्ने उहाँले माग गर्नुभयो। 
     
    सांसद अम्मरबहादुर रायमाझीले पनि विकास खर्च न्यून देखिएको उल्लेख गर्दै पूर्वाधार आयोजना ठप्प प्रायः रहेको बताउनुभयो। निर्माणाधीन आयोजनाको काम चाँडो गरिनुपर्ने उहाँको माग छ।
     
    सांसद डा अमरेशकुमार सिंहले पनि विकास निर्माणको काममा सरकारले गति दिन नसकेको बताउनुभयो। निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी नपाएको पनि उहाँले उठाउनुभयो ।
     
    सांसद अञ्जनी श्रेष्ठले प्रस्तावित निजगढ–हेटौँडा–भरतपुर विद्युतीय रेलमार्ग निर्माण गर्दा मानववस्ती र घना आवासीय क्षेत्रमा असर पर्ने देखिएकाले अर्को विकल्प खोजिनुपर्ने धारणा राख्नुभयो ।
     
    सांसद अनिसा नेपालीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रतिस्पर्धी, व्यावसायिक र आधुनिक बनाउन आवश्यक रहेको बताउनुभयो। प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको वृत्तिविकासमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
     
    सांसद अब्दुल खानले बर्दिया जिल्लामा बाघको आक्रमणको त्रास रहेको विषय उठाए। त्यस्तै, नारायणगढ–बुटवल सडकखण्डका निर्माणमा गति दिन पनि उहाँले सरकारसँग माग गर्नुभयो। 
     
    सांसद अमनलाल मोदीले सहकारी संस्थाहरू धराशायी हुने क्रम देशभर देखिएको र सहकारी संस्थाका सञ्चालकको बदमासीमा कारण सर्वसाधारणको ठूलो रकम डुब्ने अवस्था देखिएकाले यसतर्फ ध्यान दिनुपर्ने कुरा शून्य समयमा उठाउनुभयो।
     
    सांसद अशोक चौधरीले समावेशिताको अधिकार थारु समुदायले उपयोग गर्न नपाएको बताउनुभयो। संघीय निजामती विधेयकमा यो विषय सम्बोधन हुनुपर्ने उहाँको माग छ।
     
    संसद्को अघिल्लो बैठकको शून्य र विशेष समयमा उठेका कुरालाई सरकार र सम्बन्धित निकायबाट सम्बोधन हुन नसकेको विषय सांसद असीम शाहले आजको बैठकमा उठाउनुभयो। गत पुसमा ललितपुरको बालकुमारीमा गोली चल्दा २ युवाको ज्यान गएको विषयमा गठित छानबिन समितिको प्रतिवेदन हालसम्म सार्वजनिक हुन नसकेको विषय पनि सांसद शाहले उठाउनुभयो। बालकुमारी घटनाका पीडितले न्याय पाउनुपर्नेमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। 
     
    सांसद ज्वाला कुमारी साहले पनि ललितपुर घटनाको दोषी पत्ता लगाई कारबाही गरिनुपर्ने बताउनुभयो।
     
    सांसद ईश्वरबहादुर रिजालले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भनी विगतका सरकारले गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्नुभयो। भूमिहीन र सुकुम्वासीका समस्या समाधानका लागि सरकार गम्भीर हुन नसकेको विषय सांसद ऋषिकेश पोखरेलले पनि उठाउनुभयो। 
     
    सांसद ईश्वरी घर्तीले राष्ट्रिय जनगणना २०७८ ले विभिन्न जिल्लाको जनसङ्ख्या ऋणात्मक रहेको देखाएको र पछिल्लो समय अत्यधिक बसाइँसराइका कारण हिमाली जिल्लाका गाउँ खाली भइरहेको बताउनुभयो। ती क्षेत्रमा विकासका पूर्वाधार र मौलिक हक अधिकारको प्रत्याभूति गराउनुपर्ने उहाँको माग छ।  
     
    राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिकामा र न्यायपालिकामा सुशासन र जबाफदेहिता कायम हुन नसकेको विषय सांसद उर्मिला माझीले उठाउनुभयो।
     
    सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट अवैध सुन भित्रिने गरेको, अध्यागमनका कर्मचारी नै भिजिट भिसामा विदेश पठाउन संलग्न भएको तथा त्यहाँ कर्मचारी र प्रहरीबीच मनमुटाबका विषयमा गम्भीर भएर छानबिन गरिनुपर्ने बताउनुभयो। 
     
    सांसद किरणकुमार साहले आरती साहलाई न्याय दिलाउन संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। विभिन्न धार्मिकस्थलमा अज्ञात समूहद्वारा भएको आगजनीको विषयमा सूक्ष्म अध्ययन र छानबिन गरिनुपर्ने उहाँको माग छ।
     
    राष्ट्रिय क्रिकेट टोली र अन्डर–१९ क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको पुरस्कार राशि तत्काल उपलब्ध गराउन सांसद गणेश पराजुलीले सरकारसँग माग गर्नुभयो। 
     
    सांसद गोकुलप्रसाद बाँस्कोटाले विभिन्न क्षेत्रमा सडक आयोजनाको निर्माण तथा स्तरोन्नतिको काम सुस्त देखिएको र किसानले सरकारी कम्पनीबाटै आफूले बेचेको दूधको मूल्य पाउन नसकेका विषय उठाउनुभयो। सडक निर्माणको कामलाई तीव्रता दिन र किसानलाई उनीहरूले बेचेको दूधको रकम उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो। 
     
    बर्दिया जिल्लामा यातायात कार्यालय नभएका कारण त्यहाँका नागरिक र यातायात व्यवसायीले भोग्नुपरेको समस्याको विषय सांसद गीता बस्नेतले उठाउँदै  संसदमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 
     
    सांसद गोमा लाभ सापकोटाले अहिले पनि विद्यालय जाने उमेर समूहको करिब साढे आठ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भइरहेको विषय उठाउनुभयो। 
     
    सांसद गङ्गाप्रसाद यादवले सिरहा जिल्लामा लागुऔषध कारोबार बढेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। अर्का सांसद जावेदा खातुनले बर्दिया जिल्लामा भारतसँगको खुला सीमाका कारण मानवतस्कर र लागुऔषध कारोबार बढेको बताउनुभयो।
     
    सांसद चित्रबहादुर केसीले भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर र मध्यपहाडी राजमार्ग निर्माणको कामले गति लिन नसकेको तथा ती आयोजनामा काम गरेका निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाउन नसकेको बताउनुभयो। 
     
    सांसद चन्द्रकान्त भण्डारीले चालु आर्थिक वर्षको बजेटमार्फत ल्याइएको निर्वाचन क्षेत्र विकास पूर्वाधार योजना कार्यान्वयनको अवस्थाबारे प्रश्न उठाउनुभयो। 


    बुधवार, माघ २४ २०८००२:२५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij