काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार(आज) मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै चार महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
त्यसैगरी माओवादी केन्द्रका राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाई तथा उर्जामन्त्रीमा नियुक्त गर्नुभएको छ । कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राख्नुभएको छ ।
कांग्रेसबाट मन्त्री नियुक्त सुनुवार ओखलढुंगा क्षेत्र नं १, खत्री उदयपुर २ ९२० र राज्यमन्त्री थापा धनकुटाकी समानुपातिक प्रदेश सांसद हुनुहुन्छ । त्यसैगरी माओवादीबाट मन्त्री बनेका बुर्जा मगर उदयपुर क्षेत्र नं २ (१) र कार्की सङ्खुवासभा १ का प्रदेश सांसद हुनुहुन्छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज नै प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिनुभएको छ ।
यसअघि कांग्रेसका शम्शेर राई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
कांग्रेसका ८ सांसदको विद्रोह र नेकपा एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री बन्नुभएका कार्कीले त्यसबेला एमालेका रामबहादुर मगर र कांग्रेसका शम्शेर राईलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो। पछिल्लो मन्त्रिपरिषद् विस्तारमा कार्कीले माओवादी केन्द्रलाई समेटेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।