Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप

अनिल र भिमले बनाए शतक
  • सोमवार, माघ २९ २०८०

  • 685
    SHARES

  • क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप
    काठमाडौं । क्यानडा विरुद्धको ३ दिने एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ। सोमबार भएको अन्तिम खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो। यसअघिका दुवै खेल नेपालले जितेको थियो।
     
    अन्तिम खेलमा नेपालको जितका लागि ब्याट्सम्यान अनिलकुमार शाह र भीम सार्कीले शतक प्रहार गरे। अनिलले ११६ बल खेल्दै शतक पूरा गरेका हुन् भने भीमले १२७ बलमा सय रन हानेका हुन्। अनिलले १२ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाए भने भीमले ११ चौका र १ छक्का हान्दै १ सय १ रन बनाई अविजित रहे।
     
    यी दुईले दोस्रो विकेटमा १ सय ८९ रनको अविजित साझेदारी गरेका थिए, जुन नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो साझेदारी हो । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अक्टोबरमा जिम्बावेविरुद्ध विश्वकप छनोटमा हरारेमा १ सय ७१ रनको साझेदारी गरेका थिए ।
     
    नेपालका अर्का ओपनर कुशल भुर्तेल भने १४ बलमा १३ रन बनाउँदै आउट भए। भुर्तेललाई डिलोन हेलिगरले बोल्डआउट गरे। 
     
    यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभर खेली ८ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो ।
     
    नभनित ढालिवालको अर्धशतक र निखिल दत्तको सानदार इनिङ्समा क्यानडाले सम्मानजनक स्कोर बनाएको थियो । ढालिवाल ठिक ५० रन बनाई आउट भए। उनले ८२ बल खेली ५ चौका प्रहार गरे । ४८ औं ओभरमा रन आउट भएका दत्तले ६२ बलमा ४५ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
     
    एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका हेमन्त धामीले आरोन जोन्सनलाई ४ रनमा आउट गरी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । उनले ३ विकेट लिएर आफ्नो पहिलो खेललाई स्मरणीय बनाए । हेमन्तले ८ ओभरमा ४९ रन खर्चे ।
     
    क्यानडाबाट कप्तान साद बिन जाफर ३१ रन बनाई अविजित रहे । उनले १५ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । श्रीमान्था विजेयरत्ने २८ बलमा २ चौकासहित २२, निकोलास कीर्तन ३, हर्ष ठाकेर ५७ बल खेली २ चौकासहित २९, श्रेयास मोभ्भा २९ बल खेली १ चौका प्रहार गरी २५, डिल्लोन हेलिगर ४ रन बनाई आउट भए ।
     
    नेपालबाट हेमन्तबाहेक कुशल मल्लले २ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३८ रन खर्चे । ललित राजवंशी र आकाश चन्दले १–१ विकेट लिए ।
     
    नेपालले पहिला खेल ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो । नेपालले बिहीबार देखि सुरु हुने विश्वकप लिग २ को तयारीका लागि क्यानडासँगको शृङ्खला खेलेको हो । नेपालले लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग २–२ खेल खेल्ने छ ।


    सोमवार, माघ २९ २०८००४:०९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij