काठमाडौं । नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढङ्गले उपकुलपति नियुक्ति गर्ने भने पनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गर्नुभयो ।
उहाँले अनुसन्धान, प्रस्तुतिमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताउनुभयो । उहाँले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताउनुभयो ।
उहाँले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भर्त्सनासमेत गर्नुभयो । अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।