काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र प्रधानमन्त्रीसँग कोरोना संक्रमितको निःशुल्क उपचार गर्न आग्रह गर्नुभएको छ ।
सभापति देउवाले आज प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निःसर्त, भेदभावबिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।
सभापति देउवाले विषम् परिस्थितिमा जनताको जीवननै कष्टकर भएको यथार्थतर्फ संवेदनशील भई जनताको हितमा काम गर्न पनि सरकारसँग आग्रह गर्नुभएको हो ।
विषम् अवस्थामा जनताको अभिभावकका रुपमा उभिनुपर्ने सरकारले कोरोनाको परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनी गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको उहाँको भनाइ छ ।