काठमाडौं । दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टी२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सीमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई १५ रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको थियो ।
अन्तिम ओभरमा नेपाललाई जितको लागि १५ रन चाहिएको थियो । दीपेन्द्रले भान डर मर्वको सुरुवाती दुई बललाई कभरको दिशामा चौका र छक्का प्रहार गरे । तेस्रो बलमा दोस्रो रन जोड्दा करण रनआउट भए ।
चौथो बलमा दीपेन्द्र बोल्ड भए । पाँचौँ बलमा नयाँ ब्याटर प्रतिश जिसी बिट भए । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा लेग बाइमा १ रन जोड्दा नेपाल हार बेहोर्न पुग्यो ।
दीपेन्द्रले ३४ बलमा ६ चौका र ३ छक्कासहित ६३ रन जोडे । करण केसीले ७ बलमा १ छक्कासहित ११ रनको योगदान दिए । यी दुईले सातौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
ओपनर कुशल भुर्तेल इनिङको तेस्रो बलमा खाता नखोली कट बिहाइन्ड भए । दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ६५ रनको साझेदारी गरे । आसिफ २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रन जोडेर आउट भए । आठौँ ओभरको पहिलो बलमा भान डर मर्वलाई आक्रमण गर्ने धुनमा उनी स्टम्प आउट भए ।
१२ औं ओभरको दोस्रो बलमा कुशल मल्ल ७ बलमा ११ रन जोड्दै एंगलब्रेक्टको बलमा आउट भए । सोही ओभरको अन्तिम बलमा रोहित पौडेल पनि पेभेलियन फर्किए । उनले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाए ।
सन्दीप जोरा ८ रन जोड्दै भान डर गुग्टेनको एलबीडब्लु धरापमा परे । सोमपाल पहिलो बलमै क्याचआउट हुँदा नेपाल १२६–६ को स्थितिमा पुग्यो । त्यसपछि करण केसी र दीपेन्द्रसिंह ऐरीले बलियो साझेदारी गरेका थिए ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । अब तेस्रो खेलमा भोलि नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । त्यसपछि समूह चरणमा थप ३ खेल हुनेछन् ।