काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद छाड्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले काम गर्न नसकेको स्वीकारेपछि अरूलाई छाड्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘तपाईंले भन्नुभएको जस्तो काम गर्न सकेन गठबन्धन फेर्नुपर्थ्यो त्यहाँसम्म ठिक। तर जाँदा सबै जानुपर्थ्यो नि। अरू सबै बेठिक म मात्रै ठिक भन्दा नेपाली जनताले के मूल्याङ्कन गर्छन् ? यसो भन्दा कांग्रेसले लोभ गर्यो भन्लान् तर, तपाईंहरूले दिनुहुन्न कांग्रेसलाई लोभ छैन। तर, बगलमा पाएको पार्टनरलाई दिनुस् न त ल। तपाईंले सक्नुभएन भने सबै जानुपर्यो नि।
उहाँले अहिलेसम्म तीन पटक प्रधानमन्त्रीले गठबन्धन फेरिएको उल्लेख गर्दै यही दरमा चले पाँच वर्षमा १३ पटक फेरिने बताउनुभयो ।
लेखकले भन्नुभयो, ‘उहाँले जीवित रहँदासम्म उथलपुथल गर्छु भन्नुभएको छ। सबै मान्छेले सबै कुरा बुझिरहेका छन्। त्यो उथलपुथल कति दिनसम्म रहन्छ इतिहासले देखाउँला। त्यति मात्रै होइन के जातिलाई लात्तीले हान्छु भन्नुभयो। त्यसमा गम्भीर रूपमा ध्यानाकर्षण भएको छ। देशको प्रधानमन्त्रीको लागि यो शब्द स्वभाविक होइन।