काठमाडौं । प्रशासनिक संघीयताको मूल कानुन निर्माणको क्रममा प्रस्तावको रुपमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयक प्रतिनिधिसभा बैठकमा पेस भएको छ ।
बिहीबार(आज) बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गर्नुभएको हो । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो ।
प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरूले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरूको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।
यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राख्नुभएको थियो । त्यसक्रममा सांसद सुवालले उठाएका प्रश्नहरूको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले संघीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताउनुभयो ।
प्रदेश र स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न यो विधेयक आवश्यक रहेको मन्त्री जोशीले बताउनुभयो । राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनाका लागि यो विधेयक ल्याउनुपरेको उहाँले दोहोर्याउनुभयो।
विधेयकले कर्मचारीलाई राजनीतिक रुपमा मुक्त बनाउनेलगायतका उद्देश्य रहेको पनि उहाँले बताउनुभयो ।