काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको निर्णय गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय सरकारले गर्न लागेको हो।
डिल्ली आचार्य नेतृत्वको आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो ।
छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरबाही र दोषीलाई उम्काउने खेल भएको पाइएको हो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभयो ।
जो माथि अनुसन्धान गर्नु पर्ने हो उनीहरूलाई अनुसन्धान नै नगरी भएका प्रमाणसमेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखिएको छ ।
सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरूलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।