काठमाडौं । जनताका आवाज मुखरित हुने संसद्मा दिनहुँका झमेलाले स्थान पाइरहेको हुन्छ । सत्ताबाट एक्कासि प्रतिपक्षीको बेञ्चमा पुगेको नेपाली कांग्रेसले अहिले सो भूमिका निर्वाह गरिरहेको छ । केही समयअघि देखि गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने बताउँदै आएको कांग्रेस आजको बैठकमा पनि आक्रामक रुपमा प्रस्तुत भयो । कांग्रेस सांसद प्रदीप पौडेलले सभाको शुरुमै गृहमन्त्री लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गर्नुभयो । सदनको सुन्दरता नै कुनै सांसदमाथि आरोप लागिसकेपछि राजीनामा दिएर अनुसन्धानको मार्ग खुला गर्नु रहेको पौडेलको भनाइ छ ।
कांग्रेसले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताएको छ । प्रधानमन्त्रीको जवाफ नआउँदासम्म गृहमन्त्रीलाई कार्यसूचीमा प्रवेश गर्न नदिने कांग्रेसको अडान छ । यता, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय मान्यता विपरीत गएर प्रतिपक्षीले अवरोध सिर्जना गरिरहेको बताउनुभयो । प्रधानमन्त्रीले जवाफ दिने मिति तय भइसकेकोले सौहार्दपूर्ण रुपमा सञ्चालन भइरहेको संसद्लाई बन्धक बनाउन नपाइने उहाँको तर्क थियो ।
नेकपा एमालेका सांसद सूर्य थापाले अहिलेको गठबन्धनले सुशासनको प्रत्याभूति दिन शुरु गरिसकेको बताउँदै सुन शासनको अन्त्य भएको दाबी गर्नुभयो । दिउँसोको संकेत बिहानीले गर्छ भनेझैँ गृहमन्त्रीले कामलाई तीव्रता दिइरहेकाले अनावश्यक अड्डी थाप्न नहुने थापाको तर्क छ ।
तलाउमा एक माछा मर्दा सिंगै तलाउ दुर्गन्धित हुने बताउँदै सांसद प्रेम सुवालले त्यस्ताहरूको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । जनतामा छाएको निराशालाई संसद्ले मलजल गरेकोतर्फ संकेत गर्दै उहाँले सुशासन सिद्ध हुनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पोखरामा जाहेरी दिएका छन् । कांग्रेसले भने विगतमा मन्त्रीहरूमाथि प्रश्न उठ्दा सभामुखबाट जवाफ दिन रुलिङ भएको भन्दै अहिले पनि सहकारी ठगी प्रकरणमा आरोपित रवि लामिछानेका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएको छ ।