काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गृहमन्त्री रवि लामिछाने आफ्नो बचाउ गर्नका लागि र आफ्नो विरोध गर्नेलाई तह लगाउनको लागी मात्र गृहमन्त्री बनेको आरोप लगाउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गदै उहाँले जो चोर उसैको ठुलो स्वर भन्ने नेपाली उखान गृह मन्त्री लामिछानेले अक्षरंश पालना गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘ जसलाई आरोपको भारीले किचेको छ । उनी त्यो आरोपको भारीको मुनिबाट चिह्याएर ज–जसले आरोप लगाए भन्ने उनलाई लाग्या छ । तिनीहरूलाई तथानाम गाली गर्दैछन् भने यो गृहमन्त्रीको पदसँग सुहाउने वाक्यांश पनि होइन सुहाउने प्रवृत्ति पनि होइन क्रियाकलाप पनि होइन । यसले उनलाई क्षणिक न्यानो त होला । तर देश र गृहमन्त्री पदको भरपुर बदनाम गरेको देखिन्छ ।’
नेता विश्वकर्माले सबैभन्दा बढी अभियोग लागेका मान्छेले अरूलाई छानबिन गर्नु विश्वसनीय भएन भन्ने कांग्रेसको माग रहेको बताउनुभयो । उहाँले कांग्रेसले जनजीविकाका हरेक विषयवस्तुमा संसद्का माध्यमबाट राज्यको ध्यानाकर्षण गराउने बताउँदै भन्नुभयो, ‘जुन कर्म रवि लामिछानेले गर्या छन् त्यस्तै कर्म गरेका अन्य व्यक्ति अहिले कहाँ छन् होला त? उनीहरूलाई मुद्दा लाग्या छ की छैन त? अरूलाई लाग्या जसरी उनलाई उठाउन मिल्ने की नमिल्ने?’ उहाँले आम नागरिकलाई प्रहरीले थुन्ने तर उनका मुद्दा अनुसन्धान गर्नेलाई पाखा लगाउने भन्दै रवि लामिछाने अराजक भएको जिकिर गर्नुभयो । उहाँले रविको अराजकतालाई अब छिट्टै जनताले चिन्ने दाबी गर्नुभयो ।
नेता विश्वकर्माले नेपालमा भ्रष्टाचार, ठगी, बेथिति र अत्याचार बढेको भन्दै नागरिकहरूले दोषी सबैलाई कारबाही हुनुपर्ने माग गरेको र कारबाही हुनुपर्ने मान्छे मन्त्री कसरी बन्यो भन्ने नेपाली जनताको प्रश्न रहेको बताउनुभयो । रवि लामिछानेमाथि लागेका उजुरी थाती रहने र तिनै अभियुक्त मन्त्रीले अरूमाथि छानबिन गर्नु हास्यास्पद रहेको बताउनुभयो ।
उहाँले अभियुक्तले स्पष्टीकरण दिने ठाउँ संसद् नभएको भन्दै बयान दिन अदालत जानुपर्ने बताउनुभयो । कांग्रेसले संसद्मा विधिपूर्वक र शान्तिपूर्वक ढंगबाट यस्ता खालका बेथिति र विकृतिको विरोध निरन्तर गरिरहने र यसको परिणामको जिम्मा सरकारले लिनुपर्ने चेतावनी दिनुभयो ।