काठमाडौं । आसन्न वैशाख १५ गतेको उपनिर्वाचनमा सबै राजनीतिक दल र आम सर्वसाधारणको ध्यान ईलाम क्षेत्र नम्बर २ मा रहेको छ । विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवार बनेकाहरू आफूहरू जित्ने दाबी गरिरहेका छन् । पछिल्लो अवस्थामा राजनीतिप्रति युवाहरूको आकर्षण पनि उत्तिकै बढेको पाइन्छ । पुराना दलहरूको विरासत जोगाउने कसरत छ भने नयाँहरूले जनताको मन जित्ने प्रयत्न गरिरहेका छन् । रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ईलामेलीहरूको उत्पादित कृषि उपजको बजारीकरण र व्यावसायिक प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता गरेका छन् ।
कांग्रेसबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्काले २०७९ सालको आमनिर्वाचनमा स्वर्गीय सुवासचन्द्र नेम्बाङसँग १ सय १४ मतले मात्रै पराजित हुनुपरेको थियो । यो अवस्थामा खड्का पनि ईलामेली जनताले यसपटक माया गर्नेमा विश्वस्त बन्नुभएको छ । निर्वाचनमा पटकपटक हार व्यहोर्दा पनि जनताको बीचमा रहेको उहाँको दाबी छ ।
पहिचानवादीहरूको प्रतिनिधित्व गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका डकेन्द्र सिंह थेगिमले अहिले माहौल आफ्नो पक्षमा रहेको दाबी गर्नुभएको छ । राजनीतिक दलहरूले पटकपटक जनतालाई आश्वासनका पोका मात्रै थमाएको र पारिवारिक विरासतमा लिप्त भएकोले आम सर्वसाधारण त्यो भन्दा माथि उठ्ने उहाँको दाबी छ ।
नेकपा माओवादी केन्द्रले भने एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गरेको छ । तत्कालीन नेकपाको झल्को दिनेगरी एमाले–माओवादी तालमेलमा गएका छन् । माओवादी केन्द्रका सांसद राजन दाहालले कम्युनिष्टहरूको एकरूपताका लागि यो समर्थन रहेको उल्लेख गर्नुभयो । माओवादीको साथले आफ्नो उम्मेदवार थप बलियो बनेको एमाले नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङको दाबी छ ।
अंकगणितमा हारजित भएपनि जनताको मन जित्न सक्ने मात्रै नेता हो । आर्थिक चलखेल र गरिबीको फाइदा उठाउनेहरू क्षणिक स्वार्थका लागि मात्रै राजनीतिलाई मोहडा बनाइरहेका हुन्छन् । बिहानीले दिउँसोको संकेत गर्छ भनेझैँ यसपटकको निर्वाचनले आगामी भविष्यलाई पनि केही हदसम्म प्रतिबिम्ब गर्नेछ ।