काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता लक्ष्मणकिशोर चौधरीले आफू संविधानको धारा १६८ को २ अनुसार बहुमतसहित मुख्यमन्त्रीको लागि दाबी पेश गर्दा पनि नियुक्ति नगरिएको भन्दै यो सोचनीय विषय रहेको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले बहुमत सदस्यको साथ आफूलाई रहेको दाबी गर्नुभयो ।
उहाँले मुख्यमन्त्री बन्ने कुरा पार्टी भन्दा पनि प्रदेश संसदीय दल अनुसार चल्ने भन्दै बहुमत सांसदको साथ आफूलाई रहेको जिकिर गर्नुभयो । रेशम रञ्जिताबीचको विवाद व्यक्तिगत कुरा भएको भन्दै उहाँले यो विषय प्रदेश सरकारसँग सम्बन्धित नभएको बताउनुभयो ।
नेता चौधरीले आफ्नो पार्टीसँग ठुला पार्टीले चलखेल गरेको आरोप लगाउनुभएको छ । साथै उहाँले यस्ता चलखेललाई समयमै बुझ्न र सचेत रहन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कैलाशकिशोर चौधरीले तपाईँलाई साथ दिएन भने के हुन्छ ? भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा उहाँले आफूसँग सुदूरपश्चिम प्रदेशका बहुमत सांसदको साथ रहेकाले मुख्यमन्त्री बन्ने दाबी गर्नुभयो । उहाँले संसदीय दलमा पनि आफ्नो पार्टीका ७ सांसद मध्ये ५ जनाको साथ आफूलाई रहेको जिकिर गर्नुभयो ।