काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको बताउनुभएको छ।
सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक समीकरण परिवर्तन गरेर मुलुक र जनतामा आशाका किरण फर्कन लागेका बेला सुदूरपश्चिमको मुख्यमन्त्री चयनका सवालमा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको बताउनुभएको हो ।
‘हिजो मात्रै एस भन्ने पार्टी छ । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने । तर कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिन सक्ने भनेर अराजनीतिक निर्णय लियो’, अध्यक्ष ओलीको भनाइ छ । उहाँले एकीकृत समाजवादीको उक्त निर्णय सही नभएको पनि बताउनुभयो ।
उहाँले एकीकृत समाजवादीले यसअघि पनि आन्तरिक रूपमा त्यसखाले प्रवृत्ति देखाइनै रहे पनि हिजोबाट बाहिर नै प्रकट भएको बताउनुभयो ।