Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यी हुन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

यी हुन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

  • बुधवार, बैशाख १२ २०८१

  • 2.4K
    SHARES

  • यी हुन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी
    काठमाडौं । नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ । तर यी दुई देशबीच नेपालबाट कतारमा श्रम गरिरहेका नेपालीहरूबारेमा कुनै किसिमको सम्झौता भएन ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटेल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो ।
     
    दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न ८ वटा विषयमा सहमति आदानप्रदान गरिएको हो । उक्त वार्ताका क्रममा दुई देशका सरकारका मन्त्रालयहरूबीच ६ वटा र निजीक्षेत्रबीच पनि २ वटा विषयमा सम्झौतापछि हस्ताक्षर भएको हो ।
     
    कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
     
    युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
     
    सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गर्नुभयो।
     
    यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो।
     
    यस्ता छन् समझदारी
     
    १. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।
     
    २. राष्ट्रिय समाचार समिति ९रासस० र कतार समाचार एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता ।
     
    ३. नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र ।
     
    ४. नेपाल सरकार र कतार सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।
     
    ५. महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालयबीच सहकार्यका लागि समझदारी पत्र ।
     
    ६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान र कतारको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।
     
    ७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता ।
     
    ८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीचको समझदारी नवीकरण ।


    बुधवार, बैशाख १२ २०८१०२:५६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij