नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका बीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको राष्ट्रिय फुटबल टीमको बिहीबारदेखि प्रशिक्षण हुने भएको छ । २८ कात्तिक र २ मंसिरमा बंगलादेशले मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।
प्रशिक्षणका लागि बुधबारसम्म सबै खेलाडीलाई काठमाडौं बोलाइएको प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएपछि प्रशिक्षण गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
नियमित प्रमुख प्रशिक्षक जोहान कालीन कोरोना महामारीका कारण स्विडेनबाट फर्कन नपाएपछि महर्जनले मैत्रीपूर्ण खेलका लागि प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका हुन । किरण श्रेष्ठलाई सहायक प्रशिक्षक तथा विकास मल्ललाई गोलिकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।