काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले अवसर पाएर पनि पार्टी विभाजन गरेको देखेर आश्चर्य लागेको बताउनुभएको छ । कुनै कारण बिनै पार्टी फुट्नु दुःखद रहेको बताउनुभयो । अध्यक्ष उपेन्द्र यादव कुशल संगठक रहेको दाबी गर्दै उहाँले पार्टीले महत्त्वपूर्ण अवसर जिम्मेवारी दिँदादिँदै पनि पार्टी विभाजन गर्नेहरूलाई भोलि नेपालको राजनीतिमा कुनै अवसर नहुने जिकिर गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले जनता समाजवादी पार्टी अब शुद्धीकरण भएको बताउनुभयो । प्रवक्ता सुमनले केही दिनको लागि भिजिटिङ कार्ड छपाउन गएकाहरू एकदिन विलीन हुने तर जनता समाजवादी पार्टी भने फेरि तंग्रिएर आउने दाबी गर्नुभयो । जसपा आठ नौ पटक फुटेको स्मरण गर्दै उहाँले छुट्टिएर गएकाहरू लोपोन्मुख अवस्थामा रहेको बताउनुभयो । अहिले पनि जनता समाजवादी पार्टीको ठुलो नेता कार्यकर्ताको पंक्ति उपेन्द्र यादवको पक्षमा रहेको दाबी गर्नुभयो ।
प्रवक्ता सुमनले आफ्नो पार्टीलाई कसैले फुटाएको नभई आफ्नै पार्टीका केही अकर्मण्य नेताहरूले महाधिवेशनको पूर्व सन्ध्यामा घटिया काम गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सत्ता गठबन्धन नै आगामी निर्वाचनसम्म जाने दाबी गर्दै गठबन्धनको विकल्प नसोचेको बताउनुभयो ।