काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको र त्यसका लागि कानुनी उपचार खोज्ने बताउनुभएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता भएको हो, इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै यसको विरुद्धमा अदालतमा जाने बताउनुभयो ।
सैद्धान्तिक तथा वैचारिक कुनै फरक नरहेको भन्दै उहाँले अलग भएका नेताहरू मन्त्री बनेका छन्, सांसद बनेका छन् यो भन्दा बढी आफूले दिन नसक्ने बताउनुभयो ।
अलग भएका नेताहरूले पार्टी विभाजन गर्दा कुनै तर्क दिन नसकेको बताउँदै उहाँले व्यक्तिको व्यक्तिगत महत्त्वाकाङ्क्षा पुरा गर्न नसकिने र अहिले जुन पार्टी दर्ता भएको छ त्यो असंवैधानिक रहेको बताउनुभयो। आफू निर्वाचन आयोगको विरुद्ध अदालत जाने उहाँले बताउनुभयो ।