काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिनुहुने भएको छ।
२७ वैशाखमा मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराउनुभएको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको बिहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गर्नुभएको हो। जसका लागि उहाँले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसक्नुभएको छ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिष्कार गर्ने बताएको हो ।
काठमाडौंमा कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विश्वासको मत प्रक्रियालाई बहिस्कार गर्न निर्देशन दिएको निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बताउनुभयो । उक्त बैठकमा निवर्तमान मुख्यमन्त्री केदार कार्की र प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोशीको अवस्थाबारे नेताहरूलाई जानकारी गराउनुभएको थियो ।
कोशीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठक सोमबार बिहान ८ बजे बस्दै छ । दलको बैठकले प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप निर्णय गर्ने नेपाली कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिनुभयो ।