काठमाडौं । मन्त्रिपरिषद्को आज दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३ मिलियन युरो अनुदान सहायता स्विकार्ने निर्णय गरेको छ । बैठकले जलवायु परिवर्तन अनुकूल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
त्यस्तै सरकारले दुईजना सहसचिवलाई सचिवमा पदमा बढुवा गरेको छ । हाल मधेस प्रदेशको कायममुकायम सचिवका रुपमा रहेका लोकनाथ पौडेललाई नेपाल प्रशासन समूहतर्फ सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।
नेपाल कृषि वन सेवातर्फ राजेन्द्रप्रसाद मिश्रलाई पनि सरकारले सचिवमा बढुवा गरेको छ । यसअघि बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि वरिष्ठ तीन सहसचिवहरू लोकनाथ पौडेल, गोविन्द बहादुर कार्की र महादेव पन्थको नाम सिफारिस गरेको थियो ।
उता नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको अध्यक्षमा प्राध्यापक लेखनाथ शर्मालाई नियुक्त गरिएको छ । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।