काठमाडौं। नेपाल–भारत एक असल छिमेकी मुलुक हुन् । यी दुई देशको आर्थिक, सामाजिक, सांस्कृतिक सबै परिवेश मिलेको छ । नेपालका अधिकांश नागरिक रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । पछिल्लो समय त मानव जीवनमा चाहिने अत्यावश्यक वस्तुहरुको आयात पनि भारतबाटै हुने गरेको छ ।
त्यही मुलुकमा लोकसभा चुनावको परिणाम सार्वजनिक भएसँगै नेपालमा त्यसको के असर पर्ला भनेर चर्चा सुरु भएको छ । सत्ताधारी भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएको छ भने दोस्रो स्थानमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन रहेको छ ।
चुनावी परिणाम अनुसार भाजपा २४०, कांग्रेस ९९, समाजवादी पार्टी ३७, तृण्मूल कांग्रेस २९, डीएमके २२, तेलुगु देशम पार्टी १६, जनता दल (युनाइटेड) १२, शिव सेना (उद्धव) ९, एनसीपी (शरद पवार) ८ र शिवसो (शिंदे) ७ सिटमा विजयी भएका छन् । कुटनितिज्ञ एवं नेपाल भारत जानकार लोकराज बरालले यो परिणामले नेपालमा खासै असर नपर्ने बताउनुभयो ।
नेपाल भारतको सम्बन्ध आदिमकालदेखि रहेको बताउँदै उहाँले जस्तोसुकै सरकार बनेपनि मुलुकको कुटनीतिमा कुनै असर नपर्ने बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति समक्ष राजीनामा बुझाएर नयाँ प्रधानमन्त्रीका रुपमा अघि सरेका छन् । मोदी नै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्कापक्की भइसकेको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतको परराष्ट्रनीति बलियो भएको बताउँदै प्रणाली अनुसार सम्बन्ध अघिजाने दाबी गर्नुभयो ।
भारत–नेपाल जानकार अशोक मेहताले नरेन्द्र मोदीको अहमताका कारण ‘अबकी बार, चारसय पार’ लाई स्थापित गर्न नसकेको बताउनुभयो । अयोध्यामा बनेको राममन्दीरले जनतालाई गास, बास र कपासको पूर्ति गर्न नसक्ने उहाँको तर्क छ ।
भारतलाई नेपालको बारेमा सोच्ने त्यति धेरै फुर्सद छैन । विश्वसँग प्रतिस्पर्धा गरिरहेको भारतले त्यही स्तरको योजना बनाइरहेको छ । मोदीको तेस्रो कार्यकालमा नेपाल–भारत सम्बन्धमा असहजता सहजतातिर जाने अपेक्षा गर्न थालिएको छ ।
भलै सन् २०१४ र २०१९ पछि तेस्रो पटक सत्ता सम्हाल्ने तयारीमा रहेको एनडीए गठबन्धनको अगुवा मोदीसँग विगत १० वर्षको अनुभव छ । त्यसैको आधारमा तेस्रो कार्यकालमा ठुलै परिवर्तन गर्ने घोषणा उनले गरिसकेका छन् ।